क्याम्पस पढ्दा साथीले आखिर तैले किन लेख्छस भनेर सोधेको प्रश्नको उत्तर अहिले सम्म भेटेको छैन । पाँच बर्ष अघि मैले किन लेख्छु भनेर गम्ने जमर्को गरेको थिएँ । आज फेरी उही बिषय बस्तुमा फरक समय, स्थान र फरक प्रसंगमा लेख्ने मेसो मिलेको छ। म समय र परिस्थिति बदलिंदा सोचाई र भोगाई पनि संगसंगै बदलिन्छन भन्ने मान्छे !लेखक, ऊ आफ्नो एउटा ब्यक्तिगत सोच अनि भोगाईको परिधि भित्र रमिरहेको हुन्छ । एउटा व्यक्तिगत सिमाना, आफ्नो परिधि, नितान्त आफ्नो । जुनबेला ऊ नितान्त आफु आफ्नो होस् । ऊ आफूसँग बोलोस् । ऊ आफुलाइ सुनोस । अनि आफु छु भन्ने भोगाइको एकोहोरो मजा लुटोस । कोरिएका शब्द अनी तिनमा कुँद्न खोजीएका भोगाई बीचमा यो ब्यक्तिगत परिधिको बिशेस महत्व हुन्छ । शब्द कोर्न फुर्सद जरुरि छ, लगाव जरुरि छ अनी शब्द कुँद्न सोच जरुरि छ !
जमाना कहाँ बाट कहाँ पुग्यो । दशैंमा बा को हातको टिको मान्छेले स्काइप,भाईबर र फेसबुकमाँ लगाए भनेर सुनियो । गूगल ह्यंगआउटमा छिमेकी अस्ट्रेलियन दाईका परिवार र अमेरिका बस्ने भतीजले मिलेर नेपालमा ठुल्दाईलाई भट्याउन लगाएर क्यानडाका फुपुको छोराले इसेवाबाट दक्षिणा अर्पण गरे अरे । जहाँ परिधि, परिस्थितको बोध थियो त्यहाँ कुनै एक रमझम साँझ मनाईयो । जहाँ बोध थिएन त्यहाँ यो ढोंग भनियो । प्रविधिले यो संसारलाई सेकेन्ड-सेकेन्ड जोडिन सक्ने बनायो । संसारको जुनै कुनाको बार्दलीमा बसेर लेखे नी हरेक कुनामा पढ्न मिल्ने भयो ! संचारका साधन अनेक आए । प्रविधिले बोल्ने, लेख्ने बाटा अनेक बने । प्रकाशनका अनेक माध्यम बने ।

