Monday, April 4, 2016

चिठी

सन् १९९६ को मे महिना, छिमेकी कृष्ण दाइले कतार बाट पठाएको चिठी मेरो हातमा थमाइयो । मैले आवेग बिहिन समाचार वाचिकाले झैँ खरर पढेर भाउजु र उहाँकी ३ बर्षे छोरीलाई सुनाइदिनु पर्ने । म भर्खर अक्षर चिनेर पढ्न सकने भएको मान्छे । हलहल केहि मेसो लाउन अनि अर्थ्याउन सक्ने । तर त्यो चिठीको भोगाई मेरो भोगाईको परिधि भन्दा बाहिरको कुरो । र त्यो समयको मेरो कर्म एक-अक्षर फरक नपारि पढेर सुनाउनु थियो जुन मेरो स्कूल बाहिर मैले भोगेको जिन्दगीको पहिलो परिक्षा जस्तो मानेथें मैले ।



चिठी पढ्दै गर्दा अनि पढेर सकिन लाग्दाको बीचमा प्रविना की आमाका आँखा रसाएर नारायणीमा भदौको भेल आए जस्तो बरर आँशु खसेको देखेर म हल्का भाबुक भएको मलाई हिजो हो जस्तो लाग्छ । तर त्यो भेलमा आँशु थियो आबाज थिएन ! त्यो मौनता मा शान्ती थियो तर छटपटी थिएन । छोरीलाई चपक्क आँला हालेर म तीर हेर्दा भाउजूका ती आँखा रसीला थिए तर त्यहाँ पीडा थिएन । त्यो अनुहार न्याउरो देखिन्थ्यो तर त्यहाँ हतास थिएन । ती ओठ आधी खुलेका थिए मानौ एक बर्ष सम्म नफेरेर रोकेको शास मन्द पवन झैँ , हिउँ परेझैं गतिमा फुसफुस बाहिर उडाई रहिएको होस् । त्यो दृश्य बढो सरल थियो । त्यो दृश्यमा मैले बिश्वास भेटेको थिएँ । मैले प्रेम भेटेको थिएँ । मैले आशा देखेको थिएँ अनि खुसी देखेको थिएँ । त्यो दृश्यमा दोधार थिएन । छोरी को कपाल मुसार्दै भाउजुले उसका गाला दुईटा हातले हल्का बाहिर बिस्तारै तानेर छाड्दा पुक् गरेर आएको आवाज ले म र प्रवीना गलल हाँसेका थिएम् । र त्यो चिठिको, त्यो कागज़ र ती शब्द र लडबडीएका अक्षरहरुको त्यहाँ केहि माने रहेन । भाउजु छोरी बोकेर आफ्नो घर छिरिंन । मैले खासै केहि सोचेर साँचेको हैन तर मनमा एउटा सानो प्रश्न रह्यो - यो चिठी पढेर त सुनाए तर मैले कती बुझें, के बुझिन ? र तखतामा कुनै एउटा मेरो पुस्तकमा छुस्स छिराइदिएँ ।

त्यसको २ वर्ष जति पछि स्कूलबाट घर फर्किने बेला एउटी सहपाठीले हातमा चिठी थमाईदिई । त्यो मैले पढेर सुनाउनु नपर्ने पहिलो चिठी थियो । मेरो नाममा सम्बोधित प्रेम पत्र । चिठी पढ्ने तर नबुझ्ने काममा अनुभबि मान्छे मैले त्यो पत्रको समर्पण त्यतिखेर बुझिन ! आझ याद मात्र छन् , समय आफ्नो रहेन !

क्याम्पस भर्ना भएको दोश्रो बर्ष। अंग्रेजी पडाउने सरले यसरी भाषा भनेको के हो भनेर छर्लंग बनाइदिए की बल्ल नेपाली भाषा राम्रो सँग बुझ्न र लेख्न सिकियो । शब्द र अर्थमा समय मिसाऊन सिकियो ! बिगतमा खाली रटियो , अनि कैले कालो र निलो मसिले कापीमा केरकार मात्र गरियो । 

मैले लेखेको रैन रे छु । मैले पढेको रैछु तर बुझेको रैन रै छु ! र मैले सम्झिन थाले । अनि बुझ्न थाले चिठिहरु । चिठी भित्रका परिधिहरु, परिस्थिहरु अनी दुरीहरु । चिठी भित्रका आत्मियता र प्रेमहरु । चिठी भित्रका बिश्वास, आशा र सपनाहरु । जानी जानी नादेखाईएका दर्दहरु । नजानी-नजानी केरिएका वासनाहरु । सोचहरु । आशिर्बादहरु । अनि सम्झनाहरु । बाचाहरु । अनुभब र भोगाइहरु । पशुपति नाथ का प्रार्थनाहरु ।

समय न हो चिठिको ठाउँमा एस.एम.एस र इमेल आउन थाले । एस.एम.एस र ईमेलमा संदेश थिए तर भोगाई थिएनन् । खबर थिए तर अनुभब थिएनन । चाह थिए तर समर्पण थिएनन् । यो संचारले दुरी कम भएको हो की बढेको हो बुझ्न सारो थियो । सायद बर्षा त्यसैले बर्षमा एक मौसममा हुने होला । जाड़ो सायद त्यसैले बर्षमा एक मौसममा हुने होला । 

अनी सायद समयले भर्ने होला सृजनामा भोगाइ । सायद त्यो पर्खाइले दिने होला शब्द को वजन । सायद त्यो बिश्वासले भर्ने होला शब्द भित्र भावना । नत्र प्यारी राधिका भनेर मैले सुनाइदिंदा भाउजुका आखाँ किन त्यसरी रसाउथे होला र ?

0 comments :

Post a Comment