Tuesday, August 27, 2019

एसएलसी


एसएलसी आजकल एसईई फलामे ढोका । परीक्षा चल्दै गर्दा मन मा यो सकिएपछी त के के गर्नु छ भन्ने थियो । हिजो हो जस्तो लाग्छ एसएलसी दिएको । सबेरै उठेर गोरखापत्र किनेर रिजल्ट खोजेको । अनेक जिल्ला बाट फोन गरेर रिजल्ट सोध्नेहरुको नतिजा भनिदिएको । प्लस टू २ दिन मा सकियो, ब्याचलर ४ दिनमा अनि जागिर खादै गर्दा यसो बसेर बिसाई फेरेर पानी पिउदै मिति गमेको पन्ध्र वर्षा बितिसकेछ ।

प्लुस टू सके लगत्तै विदेश जान पर्छ भनेर कोहि साथीहरु विदेश हानिए । कोहि आआफ्नो गक्षले भ्याउने बिषय छानेर पढ्न तिर लागे । ऊ बेला यत्तिकै केहि नसिकी, काम गर्न सक्ने नभई, आफ्नो हात मा केहि सिप या कला नभई विदेश गएर काम छैन भन्ने सोच्थें । तुलनात्मक रुपमा पढाई को हिसाब ले सोच्ने हो भने नेपाल मा भन्दा आइटी शिक्षा बिदेशकै पढाई राम्रो छ भनेर भन्ने कोहि भएन । ब्याचलर पछी पढाई विदेश गएर कन्टिन्यु गरम भन्ने सोच आएको हो तर ढिला भै सके जस्तो लाग्यो । र आजकल आफै संग एउटा गुनासो छ - उ बेला पढ्ने जोश र जाँगर हुँदा कुनै विश्व प्रसिद्द बिद्यालय हेरेर हानिएको भए धेरै केहि नभए पनि वोर्ल्ड क्लास सफ्टवेयर निर्माण गर्ने कम्पनि हरुको जागिरे भैन्थ्यो कि । यो लिखित कुरो हैन, त्यहि हुन्थ्यो होला भन्ने छैन, तर मन मा खड्किने रैछ ।

राम्रो पढाईको सपना राख्ने हरु विदेशनै जानु पर्छ भन्न खोजेको पनि हैन । समय परिस्थिति हुन्छन । आआफ्ना सोचहरु हुन् । कसैका के कसैका के । एउटा माहोल हुँदो रहेछ, जब आज भोलि पर्सि गर्दै आफु संग पढेका, हुर्केका, संग खेलेका साथि भाइ एक पछी अर्को गर्दै सबै विदेशिए पछी अन्जान तबरमा आफु पनि जान पाए हुन्थ्यो भन्ने भावना पैदा हुने ! पियर प्रेसर भनेको यही हो । आफ्नो गक्षता, दक्षता एकतिर कुम्लो बोकी ठिमीतिर भनेको पनि यस्तै लाई हो ।

एउटा उमेर हुँदो रैछ, स्कुल सकेर क्याम्पस पढ्न सुरु गरेदेखि २ बर्ष प्लुस टू, ४ वर्षा ब्याचलर, यो तकरिपन १८ देखि २४-२५ सम्मको उमेर बडो संबेदनशील हुदों रैछ । ती बर्षहरुमा जुन ठाउँ बसियो, जे गरियो, जे खाइयो, जे लाइयो, जस्तो संगत मा परियो त्यसले एक किसिमको ठाउँ पर्ती, सिकेका कुरा पर्ती, लागेका बानि बेहोरा पर्ती आशक्ति सिर्जना गर्दो रैछ । तत्पश्चातको  जिन्नगी सोहि उमेरका तिनै झिना मसिना लागेका बानिहरुको दैनिकी बनिदियो भने त्यहाँ नौलौ केहि भएन ! यो एबम रितले चली रहनेछ । हिजो पनि यस्तै थियो, आज र भोलि पनि यस्तै हुने छ ।

बिगतमा  विदेशिने क्रेज कम थियो, आजकल बिदेशिएका संगतिले हालेका फेसबुक भित्रका चिल्ला फोटा हेर्दै दैनिकी बिताई रहंदा अनि बसन्तपुरको गल्लीको चटामरी खादै जिन्दगीका सपना बुंदा आफु एउटा दोसाध मा भएको भान गर्छन युवा हरु । जाने या नजाने? गएर के नगएर के ?

समय बित्दै गर्दा, जागिर या ब्यबसाय गर्दै गर्दा, धरहराहरु ढल्दै गर्दा जिन्दगि एउटा रुटिन भए जस्तो लाग्छ । यहाँ अब नौलो केहि हुनु छैन ! उही पुराना गाडीहरु, उही पुराना यात्री हरु, उही अनुहार हरु, उही २-४ ओटा घरहरु । उही गल्लीहरु, उही चोक हरु, उही क्याफे अनि उही गफ हरु । उही एभरेस्ट म:म, उही टिपटपको समोसा ! दैनिकी भन्ने त्यसैले होला । चल्दै गर्दा महत्वकांक्षाहरु मर्दै जान्छन । उडेर जुन छुन्छु भन्थे तर आज पिंजडा को चरी भाछ जिबन । गीतहरु नी तिनै हुन् !

एसईई सकेको जवानका चन्द्रमा घुम्ने महत्वकांक्षाहरुको रफ्तार एउटा छ । जिन्दगीको एउटा आफ्नै रफ्तार छ । यहाँ कुराहरु समय आएसी हुँदा रैन्छन, समय पुगेसी हुने रैछन ! असारमा रोपेको धान भदौ मा काट्न खोजेर के गर्नु ? कार्तिक मङ्सिर कुर्ने पर्यो, कुर्न सक्नु पर्यो, कुर्न सिक्नु पर्यो ।  मनका अनेक दोसाध अनि दुबिधा हरुमा रुमलिएर हुने के हो ? केहि हैन ! दैनिकीले जे माग्छ, हिजो जे थियो आज त्यसैको परिमार्जित अनुभूति आशा गर्नु बाहेक मान्छे ले अरु के गर्न सक्छ र ? मान्छे सफल मेहनतले मात्र हुन्छ? भाग्य हुनु पर्दैन ? जे लेखेर ल्याएको छ तेही हुन्छ भन्नेहरुको जमातमा हुर्केर भाग्यको भर नपर भन्न कसरि सक्छन मान्छे हरु ?

अनेक सपनाहरु संगेलेर, आशाहरु बुनेर फलामे ढोका धकेल्न लागेकाहरुले आफ्ना जिम्मेबारिहरु बुझुन, समयको गति बुझुन, धैर्य र थिर हुन् अनि मेहनतमा बिश्वास गरुन । एउटा इँटा जोडेसी मान्छेले जोड्ने अर्को इँटा हो - चरोले घसेटाका त्यान्द्रा त्यान्द्रा बुनेर गुँड बुन्छ, भाइबहिनिहरुले इँटा इँटा जोडेर आफ्ना सपना बुनुन् !